शनिबार १३ मंसिर, २०७७ (Saturday November 28, 2020)

कृषि मन्त्रालयले देशभरका किसानको डाटा संकलन गर्ने 

बुधबार २१ आश्विन, २०७७ विचारवाटिका 1323

 

असोज २१, काठमाडौं । देशभरका कृषकहरुको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ ।

कृषिमन्त्री घनश्याम भुसालले कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाएको या नपाएको अवस्थाबारे विवरण संकलन गरिने बताए ।

कृषि मन्त्रालयको जिम्मेवारी नेकपा नेता भुसालले सम्हालेपछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो ।

मन्त्रालयका एक अधिकारीले जानकारी दिए अनुसार सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने बताए ।  

सरकारले राष्ट्रिय जनगणना गर्न लागेकै बेला कृषि मन्त्रालयले देशभर छुट्टै गणना किन गर्न लागेको भन्ने प्रश्नमा मन्त्री भुसालले भने, ‘किसानहरुबाट हामीले जुन तथ्यांक लिनुपर्ने हो, त्यो हामीले खोजेजस्तो राष्ट्रिय जनगणनाबाट प्राप्त हुँदैन । राष्ट्रिय जनगणना समग्र गणना हो भने कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको हो ।’

मन्त्रालयले स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने जनाएको छ ।

कृषि मन्त्रालयका अधिकारीका अनुसार कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्नेछ ।

मन्त्रालयको उद्देश्य कृषकका लागि विभिन्न निकायबाट हुने सेवा प्रवाह एकीकृत गर्ने तथा कृषिको वर्गीकरण तथ्यांकबाट राष्ट्रिय डाटावेश तयार गर्ने हो ।

स्रोतका अनुसार बुधबार कृषकहरुको सर्वेक्षणको कार्यविधिबारे कृषि मन्त्रालयमा कर्मचारीहरुसँग मन्त्री भुसालले थप छलफल गर्ने कार्यक्रम रहेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु