सोमबार २४ फाल्गुन, २०७७
फागुन २४, काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको भन्दै सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको थियो । अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला सार्वजनिक गरेको छ ।
सरकारमा रहेका मन्त्रीहरुले अदालतको फैसलापछि आफुहरु सांसद पद छोड्ने तर, माओवादी केन्द्रमा नफर्किने अडान लिएका छन् । दल त्याग ऐनअनुसार पार्टी परिवर्तन गर्दा स्वतः संसद सदस्यता गुम्नेछ । तर, पनि उनीहरुले एमालेतिरै रहने निर्णय गरेका छन् ।

पुस ५ गते भएको संसद विघटनपछि सरकारमा गएका तत्कालिन माओवादी केन्द्रका एक मन्त्रीले भने, ‘प्रचण्डसँग विद्रोह गरेर हिँडेका हामी फेरी पनि उहाँलाई नै नेता मान्न जाँदैनौं । सांसद पद गए पनि प्रधानमन्त्रीजीसँगै रहन्छौं, हामी उहाँलाई धोका नदिने मनस्थितिमा पुगेका छौं ।’
संसद विघटनको विपक्षमा प्रचण्ड–माधव समूह सडकमा नारा लगाउँदै गर्दा प्रचण्ड निकट केही नेता सरकारको पक्षमा उभिएका थिए ।
अहिले केपी ओलीले नेतृत्व गरेको सरकारमा पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु शाह, खानेपानीमन्त्री मणि थापा रहेका छन् । बादल र भट्ट प्रचण्डको कोटाबाट मन्त्री बनेका हुन् भने रायमाझी, शाह र थापा प्रचण्डसँग विद्रोह गरेर बाहिरिएका नेता हुन् ।
मन्त्री रायमाझीले भने, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ तर तत्काल माओवादी केन्द्रमा फर्किने कुरा सम्भव छैन ।’