आईतवार १७ आश्विन, २०७८
असोज १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् ।
आज कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताएका हुन् ।
फागुनसम्ममा खोप आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठले बताए । ‘यो दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ’ उनले भने ।
सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको पनि राज्यमन्त्री श्रेष्ठले बताए । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए ।