आईतवार ४ श्रावण, २०८२
साउन ४ रामेछाप ,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा साउन ७ गते रामेछाप नगरपालिका–८ स्थित पुष्पलालकाे जन्मथलो भंगेरीमा स्मृति दिवस तथा जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ, बागमती प्रदेश समितिको आयोजनामा सो कार्यक्रम पुष्पलाल पार्कस्थित सभाहलमा हुन गहिरहेकाे कार्यक्रमको व्यवस्थापन नेकपा (एमाले) रामेछाप नगर कमिटीले गर्नेछ।
स्मृति दिवसको दिन बिहान ९ बजे पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पणपछि सांस्कृतिक कार्यक्रम सुरु हुने जिल्ला कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।
कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरूद्वारा जनवादी गीत, नृत्य, कविता वाचन तथा साहित्यिक प्रस्तुति हुनेछ। साथै साहित्यकार, रचनाकार, चलचित्रकर्मी तथा राष्ट्रिय जनसांस्कृतिक महासंघकी केन्द्रीय अध्यक्ष भूमिका सुब्बालगायतको उपस्थिति रहनेछ।
श्रेष्ठका अनुसार कार्यक्रममा नेकपा (एमाले) जिल्ला, पालिका, वडा कमिटीहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू, स्थानीय नेताकार्यकर्ता, उद्यमी, पेशाव्यवसायी, युवा, विद्यार्थी, पत्रकार, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
