शुक्रबार २३ श्रावण, २०८२
साउन २३ काठमाडौं ,नेपाल आदिवासी जनजाति महासंघले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको महासंघका अध्यक्ष गेल्जे लामाले बताउनु भयाे ।
साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) ३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेकाे कार्यक्रम अध्यक्ष लामाले याेपटक सप्ताहव्यापी कार्यक्रमकाे आयाेजना गर्ने र यस्ता कार्यक्रमले सरकार र सम्बन्धित निकायसमक्ष आवाज पु–याउने मौका पनि भएको बताउनु भयाे ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार, आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको छ विश्वका ८०% खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित रहेकाे अध्यक्ष थापा मगरले बताउनु भयाे ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठूलो रहने बताउदै विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिनुभयाे ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताउनु भयाे। कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए। थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमलाई प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनले संचालन गरेका थिए ।
