बिहीबार ५ भाद्र, २०८२
भदाै ५ काठमाडौं , शिक्षा विधेयकमा निजी विद्यालयलाई असर पर्ने व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रमकाे घोषणा गरेकाे छ ।
हिजाे बुधबार पत्रकार सम्मेलन गर्दै प्याब्सन र एनप्याब्सनले विधेयकमा पूर्ण छात्रवृत्ति शब्द नराख्न , गैरनाफामूलक भनी उल्लेख नगर्न ,छात्रवृत्ति वितरण गर्दा पूर्ण अधिकार सम्बन्धित विद्यालयलाई दिनुपर्ने,
कम्पनी ऐन अनुसारनै निजि विद्यालयहरू दर्ता गरि खाेलिएकाेले गैरनाफामुलक भनी नराख्न ,निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिनेलगायत व्यवस्था शिक्षा विधेयकमा समेट्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्याब्सन र एनप्याब्सनले आफ्नाे मागहरू शिक्षा विधेयकमा समेट्न पहिलो चरणमा ५ भदौदेखि आन्दोलनका कार्यक्रम थाल्ने र सरकारले बेवास्ता गरेमा भदाै ९ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलन चर्काउने एनप्याब्सनका केन्द्रीय अध्यक्ष सुभाष न्यौपानेले जानकारी गराउनु भयाे ।
संघीय संसद बाट पारित गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम चरणको छलफलमा छ । देशको विद्यालय शिक्षामा ठूलो योगदान दिँदै आएका निजी शैक्षिक संस्थाहरूलाई राज्यले नीतिगत रूपमा गर्न लागेको व्यवहार न्यायोचित नभएकाे अध्यक्ष न्याैपानेले विधेयक जस्ताको तस्तै पारित भएमा शिक्षा नीतिमा सरकारको घोषित लक्ष्यहरू गम्भीर रूपमा प्रभावित हुने बताउनु भयाे ।
प्याब्सन र एनप्याब्सनले पत्रकार सम्मेलनमा भदाै ५ गते बिहान ११ देखि दिउँसो १ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्ने, भदौ ६ गते देशैभरिका स्कुल बसहरू प्रदर्शन गर्ने, भदौ ७ गते चक्रपथवरिपरि स्कुल बसहरूको र्याली गर्ने र भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने जनाइएको छ ।