शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

गगनविरुद्ध श्यामकृष्ण खड्गीको उम्मेदवारी, कांग्रेस सभापतिको दौडमा थपियो नयाँ ट्विस्ट

मंगलवार २० आश्विन, २०८३ Bichar Batika 1152


गगनविरुद्ध श्यामकृष्ण खड्गीको उम्मेदवारी, कांग्रेस सभापतिको दौडमा थपियो नयाँ ट्विस्ट

असोज २० काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। सभापतिका बलिया दाबेदार मानिएका गगन थापालाई चुनौती दिँदै काठमाडौंका श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। काठमाडौंमा भीषण हावाहुरी र असिनापानी भइरहे पनि महाधिवेशनस्थलमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र छ।
खड्गीले केही बेरअघि सभापति पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्। उनी करिब चार दशकदेखि नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्। वडा कार्यसमिति सदस्यदेखि क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका खड्गीले यसपटक पार्टीको सर्वोच्च कार्यकारी नेतृत्वका लागि दाबी प्रस्तुत गरेका हुन्।
खड्गीको उम्मेदवारीलाई अझ रोचक बनाउने अर्को पक्ष भनेको उनको गगन थापासँगको पुरानो सम्बन्ध हो। खड्गी सिद्धार्थ वनस्थली स्कुलमा शिक्षक रहँदा थापा उनका विद्यार्थी थिए। अहिले भने शिक्षक र विद्यार्थी कांग्रेसको सभापति पदमा आमनेसामने हुने अवस्थामा पुगेका छन्।
यसैबीच, पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। राठौर मंगलबार नै बर्दिया–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
सभापतिमा गगन थापाको सम्भावना बलियो रहेको चर्चा भइरहेका बेला खड्गी र राठौरको मैदान प्रवेशले कांग्रेस महाधिवेशनको नेतृत्व प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ। अब उम्मेदवारी दर्ता सकिएसँगै सभापति पदमा वास्तविक प्रतिस्पर्धाको तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु