शनिबार २९ कार्तिक, २०८३ (Saturday November 14, 2026)

मकवानपुरमा विद्युतीय माइक्रोबस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, ११ जनाको सनाखत

बिहीबार २७ कार्तिक, २०८३ Bichar Batika 1153


मकवानपुरमा विद्युतीय माइक्रोबस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो, ११ जनाको सनाखत

कार्तिक २६, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ भने तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्य तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चार महिला, तीन बालिका र सात पुरुष रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। पहिचान खुलेका मृतकमा चालकसहित ११ जना रहेका छन्।
मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुहु यादव, ३२ वर्षीया गायत्री यादव, रामदुलार यादव, २४ वर्षीय सुवोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस चिसापानीगढीस्थित सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
बिहान पौने ६ बजे भएको उक्त दुर्घटनामा माइक्रोबसमा बालबालिकासहित २० जना सवार थिए। छठ पर्व मनाउन घर फर्कँदै गरेका यात्रु दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनापछि उद्धार गरिएका घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु