सोमबार २७ बैशाख, २०७८
वैशाख २७, काठमाडौं । एमालेको माधव-झलनाथ पक्षले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै दिएको समयसीमा सकिएको छ ।
पार्टीलाई एकताबद्ध बनाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । माधव-झलनाथ पक्षले सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीलाई दिएको समयसीमा सकिएपछि सो समूहका नेताहरू यस विषयमा थप छलफलमा जुटेका छन् ।
पार्टीलाई ओली इतर पक्षले २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निणर्य फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल नदेखिएको एक नेताले बताए ।
नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि दुवै पक्षका नेताहरुबीच तीव्र गतिमा छलफल हुँदै आएको छ । यद्यपि समस्या समाधानको बाटो पहिल्याउन दुवै पक्षले सकेका छैनन् । त्यसर्थ ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना पनि देखिएको छैन ।