मंगलवार २ मंसिर, २०८३ (Tuesday November 17, 2026)

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै याे वर्षकाे छठ पर्व विधिपूर्वक सम्पन्न

सोमबार १ मंसिर, २०८३ Bichar Batika 1306


उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै याे वर्षकाे छठ पर्व विधिपूर्वक  सम्पन्न

कार्तिक ३०, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज विधिपूर्वक सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न गरेका हुन्।
सूर्योदय हुनासाथ बर्तालुले नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर श्रद्धा र भक्तिपूर्वक सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो।
सूर्य उपासनाको महापर्व छठ सम्पन्न भएसँगै बर्तालु छठीघाटबाट घर फर्किएका छन्। घर फर्किएपछि बर्तालुले दीनदुःखी तथा आशामुखीलाई अन्न, वस्त्रलगायतका सामग्री दान गर्ने र त्यसपछि प्रसाद ग्रहण गर्ने परम्परा छ।
यसअघि कात्तिक शुक्ल चतुर्थीका दिन पवित्र स्नान गरी चोखोनितो खाएर व्रतको सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधिबाट छठ पर्व सुरु भएको थियो। पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिएको थियो। त्यसपछि षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अन्तिम अर्घ्य दिएर पर्व सम्पन्न गर्ने परम्परा रहेको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ।
छठ पर्वमा सूर्यदेवलाई चढाइने ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलगायतका परिकार प्रसादका रूपमा ग्रहण गर्ने र आफन्तजनलाई बाँड्ने चलन छ।
विशेषगरी मिथिला क्षेत्रमा छठको प्रसाद खाने–खुवाउने क्रम लामो समयसम्म चल्ने गर्दछ। छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा छठको प्रसाद ‘भार’ अर्थात् सोलीमा राखेर पठाउने मैथिल परम्परा पनि प्रचलित छ।
सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रत तथा पूजाआराधनाबाट सुख, शान्ति, समृद्धि प्राप्त हुने र रोगव्याधबाट मुक्ति मिल्ने धार्मिक एवं सामाजिक जनविश्वास रहिआएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु