आईतवार ११ पुष, २०७८
पुस १०, काठमाडौं । भोलिदेखि देशको विभिन्न ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ ।
नेपाल सरकारले ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै अहिले जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको चाप बढेको छ ।
यसैबीच ई–पासपोर्ट बनाउन काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौंका तीन ठाउँमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने जनाएको छ ।
यसअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय ललितपुर र नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने विभागले जनाएको छ ।
विभागका अनुसार बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् ।
त्यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।
प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्नेछन् ।
यी ठाउँबाट फर्म भर्नासाथ राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराइने जनाइएको छ ।