बिहीबार २७ कार्तिक, २०८३ (Thursday November 12, 2026)

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्दै, पर्यटन व्यवसाय लयमा फर्किँदै

बिहीबार २७ कार्तिक, २०८३ Bichar Batika 1138


बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्दै, पर्यटन व्यवसाय लयमा फर्किँदै

कार्तिक २६, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै लयमा फर्किन थालेको हो ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेपछि होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा स्थानीय साना व्यवसायीलाई राहत पुग्न थालेको छ । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार, पर्यटकको सुरक्षा र सहज आवागमनका लागि आवश्यक समन्वय गरिरहेको अध्यक्ष  तामाङले  बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले पनि बाढीपछि अवरुद्ध आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको जानकारी दिए ।
स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकसँगै युवापुस्ताको आकर्षण पनि बढ्दै गएको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहरामा मात्रै बढी तीर्थयात्री पुग्ने गरेकामा अहिले वर्षभरिजसो पदयात्रा र घुमफिरका लागि पर्यटक आउने गरेका छन् । पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकास गर्न सके पर्यटनबाट स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुग्ने उनको भनाइ छ ।
समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ मा अवस्थित छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित यस कुण्डलाई भगवान् शिवसँग जोडिएको पवित्र तीर्थस्थल मानिन्छ ।
गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायतका कुण्ड रहेका छन् । यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली जैविक विविधता, तामाङ संस्कृति र पदयात्रा मार्गले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
पारिस्थितिकीय महत्त्वका कारण गोसाइँकुण्ड क्षेत्र विसं २०६४ असोज ५ गते रामसार सूचीमा सूचीकृत भएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृगलगायत दुर्लभ वन्यजन्तु तथा विभिन्न हिमाली वनस्पति पाइन्छन् ।
गङ्गादशहरा र जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । सडक तथा पदमार्गको दिगो सुधार र आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रको पर्यटनले अझ गति लिने अपेक्षा गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु