बुधबार १९ मंसिर, २०८१
१९ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो दिन आज दुई रोमाञ्चक खेल सम्पन्न भए। पहिलो खेल बिहान ९ बजे काठमाण्डौ गुर्खाज र कर्णाली याक्सबीच खेलियो भने दोस्रो खेल दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच भयो।
दुवै खेल रोमाञ्चक रह्यो। काठमाण्डौ र विराटनगरले एनपीएलको पहिलो जित दर्ता गरे। करण केसीको कप्तानीमा रहेको काठमाण्डौले दोस्रो खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हासिल गर्यो। यसअघि काठमाण्डौ चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो।
यो जितसँगै काठमाण्डौले २ अंक जोडेको छ। पेपरमा बलियो मानिएको र धवनको आगमनले चर्चामा रहेको कणर्ालीले लगातार दोस्रो हार व्यहोरेको छ। यसअघि कणर्ाली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई २ विकेटले पराजित गर्यो। लुम्बिनीले १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जुन एनपीएलकै हालसम्मको सबैभन्दा उच्च स्कोर थियो।
कप्तान लामिछानेले एनपीएलमा पहिलो विकेट लिएका थिए। तर, विराटनगरले उच्च स्कोर तोड्दै १ बल बाँकी छँदै ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यसले लुम्बिनीलाई पहिलो जित निकाल्नबाट रोकेको छ।