शनिबार १७ श्रावण, २०८२
साउन १७ सिन्धुली, सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ ।
सिन्धुलीमा गएराति देखि निरन्तर परेकाे अविरल वर्षाकाे कारण सिन्धुली गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक सुवेदीको अनुसार गोलञ्जोर गाउँपालिका–६ बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएकाे कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छ।
सडक अवरुद्घ भएकालेे ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७८९० नम्बरको ६ चक्के ट्रक लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।
ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट संघीय राजधानी काठमाडौं हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने छ । सडकमा खसेको पहिरो र लोदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी गराए ।