शनिबार १३ भाद्र, २०८३
भदाै १३ काठमाडौं , नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
शाखाका सचिव रमेश कुमार बोहोराले २०८३ भदौ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत रकम कटौतीको निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यम थप आर्थिक संकटमा पर्ने र त्यसको प्रत्यक्ष असर पत्रकारको रोजगारी तथा नागरिकको सूचनाको अधिकारमा पर्ने बताएका छन्।

महासंघले लोककल्याणकारी विज्ञापनलाई सरकार वा राजनीतिक दलको कृपाका रूपमा नभई नागरिकसम्म सार्वजनिक सूचना पुर्याउने सञ्चारमाध्यमको भूमिकाको संस्थागत सम्बोधनका रूपमा लिनुपर्ने जनाएको छ। सरकारी विज्ञापनलाई नियन्त्रणको माध्यम बनाउने वा आलोचनात्मक सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर पार्ने प्रवृत्ति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेप हुने शाखाको ठहर छ।
शाखाले रकम कटौतीको निर्णय पुनरावलोकन गर्न, सरकारी विज्ञापन वितरणमा पारदर्शी र न्यायपूर्ण प्रणाली सुनिश्चित गर्न तथा साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षणका लागि प्रभावकारी नीति ल्याउन सरकारसँग माग गरेको छ।
सरकारले निर्णय तत्काल नसच्याए देशभरका पत्रकार, सम्पादक, प्रकाशक तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संघ–संस्थासँग सहकार्य गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत शाखाले दिएको छ। आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने शाखाको भनाइ छ।
