सोमबार १७ कार्तिक, २०८३
कार्तिक १६, इलाम। विभिन्न माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्।
बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार साँझ इलाम अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ।
इलाम अस्पतालका चिकित्सक डा. अमिताभ ठाकुरका अनुसार केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ। उनलाई आवश्यक ग्लुकोज दिन खोजिए पनि केसीले अस्वीकार गरिरहेका छन्। लामो समयदेखि खाना नखाएका कारण रगतमा ग्लुकोजको मात्रा घट्नु र पिसाबमा एसिटोन बढ्नु स्वास्थ्यका दृष्टिले चिन्ताजनक अवस्था रहेको चिकित्सकले बताएका छन्।
डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा निर्धारित मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन र सरकारी शैक्षिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नुपर्नेलगायत ६ बुँदे माग अघि सारेका छन्।
त्यस्तै, विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत बढाइएका विद्यार्थी सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै लामो समयदेखि संघर्ष गर्दै आएका डा. केसीको यो २५औँ अनशन हो। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अनशन र मागप्रति पुनः चासो बढेको छ।