सोमबार ८ मंसिर, २०८३ (Monday November 23, 2026)

सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको सानदार जित

आईतवार ७ मंसिर, २०८३ Bichar Batika 1105


सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको सानदार जित

मंसिर ६, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पराजय भोग्दै उपविजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो ।
शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य कुनै पनि विकेट नगुमाई १३ ओभर ३ बलमै पूरा गर्‍यो । अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले यसपटक उसैलाई हराउँदै उपाधि जितेर पुरानो हारको बदला समेत लिएको छ ।
सुदूरपश्चिमको ऐतिहासिक जितका नायक ओपनर जर्ज मुन्सी बने । उनले आक्रामक ब्याटिङ गर्दै मात्र ५४ बलमा अविजित १२५ रनको विस्फोटक शतकीय इनिङ्स खेले । मुन्सीले मैदानको चारैतर्फ चौका र छक्काको वर्षा गर्दै लुम्बिनीका बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरे ।
उनलाई अर्का ओपनर विनोद भण्डारीले उत्कृष्ट साथ दिए । भण्डारीले २७ बलमा अविजित ३० रन बनाए । यी दुईबीचको अविजित साझेदारीले सुदूरपश्चिमलाई सहज रूपमा उपाधिसम्म पुर्‍यायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । त्यस्तै हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पारे ।
पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित हुँदै लगातार दुई पटक उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।
यस जितसँगै सुदूरपश्चिमले एनपीएलमा आफ्नो पहिलो च्याम्पियन उपाधि मात्र जितेको छैन, लगातार दुई फाइनल हारको इतिहासलाई पनि सुखद अन्त्य गरेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु