शनिबार १७ जेष्ठ, २०७७ (Saturday May 30, 2020)

ब्राह्मणवादको धिपधिप

मंगलवार १७ पुष, २०७५ अभय श्रेष्ठ 2277

अभय श्रेष्ठ

सुरुमै स्पष्ट पारिदिऊँ, ब्राह्मणवाद ब्राह्मण जातिलाई अपमान वा प्रहार गर्न बनेको शब्द होइन । यसलाई जातिवाद, मनुवाद, पुरोहितवाद, भाग्यवाद आदि नाम दिन सकिन्छ । ब्राह्मण धर्म यसको जरा भएकाले ‘ब्राह्मणवाद’ शब्द यसैबाट प्रचलित भएको हो । भारतीय दलित विद्वान् भीमराव अम्बेडकरका अनुसार समता, स्वतन्त्रता, बन्धुत्व भावना तथा न्यायको निषेध नै ब्राह्मणवादको देन हो । प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्टले ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ मा यही ब्राह्मणवादलाई विकासको बाधक मानेका छन् । ब्राह्मण समुदाय सबै ब्राह्मणवादी र अन्य समुदाय ब्राह्मणवादविरोधी भन्ने होइन । वैश्य र शुद्रलाई निचा मान्ने क्षत्रीय, नेवारमै साल्मी, च्यामे, पोडे, कसाई, गाइनेलाई अछूत व्यवहार गर्ने वज्राचार्य, प्रधान, श्रेष्ठ र जोशी, मधेसीमै डोम, मुसहर, पासवान, वादीलाई अछूत ठान्ने झा, यादव अनि दलितमै अन्य दलितलाई छुवाछूतको व्यवहार गर्ने व्यक्ति सबै ब्राह्मणवादी हुन् ।  


ब्राह्मणवादको उत्पत्ति
हिन्दु समाज चार वर्णविधानमा आधारित समाज व्यवस्था हो । भारतीय समाजशास्त्री डा. विजयकुमार त्रिशरणका अनुसार यसलाई रुसको भोल्गा किनारबाट पूर्वतिर लागेका विदेशी आर्यहरूले भारतीय उपमहाद्वीपमा आक्रणपछि स्थापित गरेका हुन् । वर्ण व्यवस्थाको उल्लेख सर्वप्रथम ऋग्वेदको पुरुषसूक्तमा भएको हो । ऋग्वेदको दसौँ मण्डलको ९० औँ सूक्तमा पुरुषसूक्तको वर्णन छ । त्यसको एक स्तुतिअनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो । उनका सन्तान देवताहरूले उनलाई ‘दैविक बलि’ चढाए । फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शुद्र उत्पत्ति भए । त्यसैगरी, मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही ‘दैविक बल’ बाट ‘पवित्र सिद्धान्त’ उत्पत्ति भयो ।

राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ । धर्मसत्ताले मानिसलाई वंशानुगत मानसिक दास बनाउँछ । धर्मसत्ताको आलोचनालाई धर्मभीरुहरू आफैँमाथि भएको आक्रमण सम्झन्छन् । अनि धर्मभीरु समाजमा ‘ईश्वर’ विरुद्ध कसले लडाइँ गर्ने ? ब्राह्मणवादको सबभन्दा ठूलो शक्ति नै यही हो ।


भारतीय मानवशास्त्री चन्द्रभान प्रसादका अनुसार वर्ण व्यवस्थाले तीन सिद्धान्त प्रतिपादन गर्छ ।  एक, हरेक धर्मदर्शनमा सृष्टि तथा मानव उत्पत्तिको व्याख्या पाइन्छ । हिन्दु मात्र यस्तो धर्मदर्शन हो जहाँ मानव वर्गको उत्पत्तिको सिद्धान्त व्याख्या गरिएको छ । दुई, मानव शरीरमा मुख सर्वोत्तम अंग मानिने हुनाले यसबाट उत्पन्न ब्राह्मण सर्वश्रेष्ठ मानियो । अनि वर्णको तुलना मानव अंगको स्थानअनुसार गरेर वर्णको असमानता जन्मजात एवं चिरस्थायी बनाउने काम भयो । तीन, असमानताको यस सिद्धान्तलाई ईश्वरको इच्छा भनेर धार्मिक पवित्रताको जामा पहिराइयो । अम्बेडकरको मतमा हिन्दु उच्चजातीय व्यक्तिले पूर्वाग्रही भएर तल्लो वर्णको आफ्नै धर्मावलम्बीमाथि होचोअर्घेली गरेका नभई ‘ईश्वरको वाणी’ धर्मशास्त्रलाई शिरोपर गरेका हुन् । पुरुषसूक्तको मन्त्र संख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै उत्पत्ति गरेको मात्र उल्लेख छ । यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो । उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे ।
ब्राह्मणवाद र वेदप्रति असहमति राखेर विद्रोह गर्ने पहिलो व्यक्ति बुद्ध थिए । उनले आफ्नो संघमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्ण व्यवस्थालाई नामेट पारिदिए । त्यसकै प्रतिरक्षाका रूपमा ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुद्वारा ईपू १५० मा रचित ‘मनुस्मृति’ आयो । यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो । यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलोपल्ट संस्थागत गर्ने काम भयो । त्यसैले कतिपयले ब्राह्मणवादलाई मनुवाद पनि भनेका छन् । अम्बेडकर वाङ्मय खण्ड ६ अनुसार ‘मनुस्मृति हिन्दुहरूको दैवी आचारसंहिता तथा दैवी शासनको लिखित संविधान हो । यसमा हिन्दुहरूको धार्मिक, शास्त्रोक्त तथा सामाजिक जीवनलाई नियन्त्रित गर्ने नियमहरूको सूक्ष्म वर्णन छ ।’ यसमै पहिलोपल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो । अर्कातिर ब्राह्मणलाई हरेक प्रकारले विशेषाधिकार दिई सर्वोच्च पदमा स्थापित गरियो । ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो । ब्राह्मण जति मुर्ख भए पनि देवता, भूदेव, क्षत्रीय जति अशक्त भए पनि लडाकु, नेवार (वैश्य) जति अल्छी र बेकार भए पनि वैश्य अनि शूद्र जति विद्वान् र योग्य भए पनि निन्दनीय हुने भयो ।
यसलाई एक कदम अघि बढेर नवौँ शताब्दीको पूर्वाद्र्धमा शंकराचार्यले हिन्दु धर्मको आधारशिला खडा गरे । उनको यो कदम त्यतिखेर ज्ञानमार्गका रूपमा प्रख्यात र व्यापक भएको बुद्ध दर्शनको प्रतिरक्षामा आएको थियो । त्यस क्रममा उनले भेटेसम्मका बौद्ध दर्शन र साहित्यलाई खरानी बनाइदिए । ‘ब्रह्मसूत्र’ मा शंकराचार्यको तीन मूल मन्त्रको चर्चा छ जुन हिन्दु धर्म पुनरुत्थानको आधारशिला बन्यो । एक, ब्रह्म सत्य जगत् मिथ्या अर्थात् ब्रह्म सत्य हो र जगत मिथ्या । दुई, सर्व खलु इदम ब्रह्मम् अर्थात् अस्तित्वमा रहेका संसारका सारा चिजमा ब्रह्म छन् । तीन, अहम् ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ । चन्द्रभान प्रसादका अनुसार शंकराचार्यको कार्य हिन्दु धर्मदर्शनको पुनस्र्थापनामा सीमित थिएन । उनी वर्ण व्यवस्थामा आधारित हिन्दु समाज व्यवस्था नै पुनस्र्थापना गर्न चाहन्थे । इतिहासको अग्रगामी कदमसँगै समाज व्यवस्था विलुप्त भयो भने बिस्तारै व्यवस्थाको दर्शन पनि विलुप्त हुने उनको ठम्याइ थियो ।

 

ब्राह्मणवादको असर
हिन्दु धर्ममा सृष्टि तथा मानव उत्पत्तिको ब्राह्मणवादी सिद्धान्तलाई विज्ञानले सर्वथा झुटो साबित गरिसकेको छ । तर, यही सिद्धान्त हिन्दु जगतमा सामाजिक विधान बनेको छ । संसारका हरेक सभ्यतामा मानव निर्मित असमानताविरुद्ध मानिसहरूले नै लडाइँ गरेका छन् । धर्मसत्ता राज्यसत्ताभन्दा धेरै शक्तिशाली हुन्छ । राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ । धर्मसत्ताले मानिसलाई वंशानुगत मानसिक दास बनाउँछ । धर्मसत्ताको आलोचनालाई धर्मभीरुहरू आफैँमाथि भएको आक्रमण सम्झन्छन् । अनि धर्मभीरु समाजमा ‘ईश्वर’ विरुद्ध कसले लडाइँ गर्ने ? ब्राह्मणवादको सबभन्दा ठूलो शक्ति नै यही हो । असमानताको सिद्धान्तबाट पीडित वर्गको दिमागमा यसलाई ‘ईश्वरको इच्छा’ भन्ने भान पारिएको छ । हरेक सभ्यतामा ईश्वरसामु मान्छेले शिर झुकाउँछ, जोरी खोज्दैन । वर्ण व्यवस्थाको असमानताविरुद्ध लड्नुको अर्थ हुन्छ ईश्वरविरुद्ध लड्नु । त्यसैले त दलित समुदाय स्वयं आफ्नै मानमर्दन गर्ने वेद, महाभारत, रामायण लगायत कथालाई दैविक वाणी मानेर शिरोपर गर्छ । सप्ताह, एकाह, नवाह, सत्यनारायणको पूजामा सरिक हुन्छ । आफ्नो अपमानित जीवनलाई भाग्यको फल र ईश्वरको इच्छा ठान्छ । यसरी ब्राह्मणवादी समाज व्यवस्था संस्कृति र धर्मको अंग बन्न पुग्यो ।


ब्राह्मणवादका कारण व्यक्तिको हैसियत र मान प्रतिष्ठाको कारण उसको गुण तथा कर्मअनुसार होइन, जन्म र जातिअनुसार हुने भयो । आज पनि उच्चशिक्षित दलित वर्गले बौद्धिक कुरा गरे उच्च जातिले खिसीटिउरी गर्ने प्रवृत्तिमा यही ब्राह्मणवाद झल्किन्छ । असर कस्तोसम्म छ भने वर्ण व्यवस्था नमान्ने जनजातिहरू समेत दलितमाथि छुवाछूतको होचोअर्घेली व्यवहार गर्छन् । केही वर्षअघि तनहुँको घाँसीकुवामा पधेँरामा गाग्रो छोएको निहुँमा अजित श्रेष्ठ र उनका परिवारले माया विश्वकर्मालाई गरेको कुटपिट अनि घान्द्रुकमा गुरुङ समुदायले दलित शिक्षकलाई महिलाको पेटीकोट लगाइदिएर गरेको अपमान ज्वलन्त उदाहरणहरू हुन् ।
हिन्दु धर्मसत्ता कति बलियो छ भने आज पनि वर्ण व्यवस्थामा आधारित समाजको सारा चरित्र बुझेको मान्छे स्वयं धर्मसत्ताको एक अंग बन्न पुग्छ । त्यसैले त ‘देवासुर संग्राम’ लेखेर हलचल मच्चाउने मोदनाथ प्रश्रित स्वयं यज्ञ गराउँछन् । कमरेड बाबुराम भट्टराई बाबुआमाको इच्छा पु¥याउन बारम्बार मनकामना र विभिन्न धार्मिक स्थल धाउँछन् । कमरेड प्रचण्ड भैँसीपूजामा संलग्न हुन्छन् । कमरेड झलनाथ खनाल प्रधानमन्त्रीको सिंहासन चिरस्थायी बनाउन पूजाआजामा संलग्न हुन्छन् । कम्युनिस्ट मन्त्रीहरू नै बोकाको बलि चढाई रगतमा टेक्दै मन्त्री निवास प्रवेश गर्छन् ।

 

निभ्न लागेको दियो
सबैलाई थाहा छ, आदिवासी जनजाति र मधेसीले पहिचानयुक्त संघीयता मागेको जातीय राज्यको अभ्यास गर्नलाई थिएन । तिनको भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार अनि दलितको आत्मसम्मान र बाँच्ने अधिकार थिचिएको छ । महिलाको पारिवारिक र सामाजिक मात्र होइन, राजनीतिक अधिकार पनि कुण्ठित छ । पछाडि परेका र थिचिएका वर्गलाई प्राथमिकता दिएर अगाडि आउन सघाउनु आधुनिक लोकतन्त्रको विशेषता हो । तर, यहाँ लोकतन्त्रको सबैभन्दा चर्को नारा दिनेहरू नै लोकतन्त्रको यो सामान्य सिद्धान्त लागू गर्नुलाई जीवन–मरण ठान्छन् । शब्दमा जे भने पनि यो मनको भित्री तहबाट ब्राह्मणवाद त्याग्न नसक्नुको परिणाम हो ।
निभ्न लागेको दियोजस्तै ब्राह्मणवाद झनै प्रचण्ड र उग्र भएको छ । सत्तासीनहरूले पहिचानयुक्त राज्यको अवशेष मेटाउन जेजति बदमासी गरे, त्यही यसको ज्वलन्त प्रमाण हो । तर, गणतन्त्र, धर्मनिरपेक्षता र छुवाछूत मुक्ति अनि दलित, आदिवासी जनजाति, मधेसी, महिला, उत्पीडित वर्गको जागरणले ब्राह्मणवादको राजनीतिक अन्त्येष्टिको निम्तो दिइसकेका छन् । निरन्तर जागरण अभियान र अथक लडाइँले नै त्यसलाई सम्भव तुल्याउनेछ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु