आईतवार २३ जेष्ठ, २०७८
जेठ २३, जनकपुरधाम । हालै प्रदेश २ का मुख्यमन्त्री समेत रहेका लालबाबु राउतलाई जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा चयन गरेको छ ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व समाजवादीका एक सांसदका अनुसार पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेका छन् ।
जसपाबाट पूर्व राजपा खेमाका नेताहरु ८ मन्त्रालयसहित संघीय सरकारमा गएपछि पूर्व समाजवादी पक्ष प्रदेशमा सत्ता परिवर्तन गर्न लागेको बताइएको छ । त्यसैले दलको नेतामा लालबाबु राउतलाई चयन गरिएको छ ।