आईतवार १२ मंसिर, २०७८
मंसिर १२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् ।
चितवनको सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएका थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए तर उनी बिहानैदेखि नेताहरुसँग छलफलमा छन् । पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले पनि अध्यक्ष ओलीलाई भेटेर लबिइङ गरेका छन् ।
अहिले केन्द्रीय सदस्यहरुको सूची बनाउने काम भइरहेको छ । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पार्क सफारी होटलको रुम नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाइरहेको स्रोतले बताएको छ ।
चार नेताले बनाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिने स्रोतले बताइएको छ ।