शुक्रबार १२ भाद्र, २०८३ (Friday August 28, 2026)

जनै पूर्णिमा तथा रक्षा बन्धन : धार्मिक आस्था, पारिवारिक प्रेम र सांस्कृतिक एकताको पर्व

शुक्रबार १२ भाद्र, २०८३ Bichar Batika 1133


जनै पूर्णिमा तथा रक्षा बन्धन : धार्मिक आस्था, पारिवारिक प्रेम र सांस्कृतिक एकताको पर्व

भदाै १२ काठमाडौं , हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी तथा रक्षा बन्धन प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ, नेपालमा एउटै दिन विभिन्न समुदाय र परम्पराअनुसार फरक–फरक नाम र विधिबाट यो पर्व मनाउने गरिन्छ, जनै फेर्ने, रक्षा डोरो बाँध्ने, दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने, ऋषि तथा पितृलाई तर्पण दिने र विशेष परिकारका रूपमा क्वाँटी खाने प्रचलन यस पर्वका प्रमुख विशेषता हुन्। 
जनै पूर्णिमालाई ऋषितर्पणी, श्रावणी पूर्णिमा तथा उपाकर्मका रूपमा पनि चिनिन्छ। विशेषगरी व्रतबन्ध गरेका तागाधारी पुरुषले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने भएकाले यसलाई जनै पूर्णिमा भनिएको हो,धार्मिक परम्पराअनुसार यस दिन बिहान स्नान गरी शुद्ध भएर गुरु वा पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) धारण गरिन्छ, जनैलाई वैदिक परम्परामा ज्ञान, अनुशासन र धार्मिक कर्तव्यको प्रतीकका रूपमा लिइन्छ। 
जनै पूर्णिमाको अर्को महत्वपूर्ण पक्ष ऋषितर्पण हो, यस दिन सप्तऋषिलगायत ऋषिहरूको स्मरण तथा तर्पण गर्ने परम्परा छ। धार्मिक विधिअनुसार तिल, कुश, जल आदिबाट ऋषि तथा पितृप्रति श्रद्धा अर्पण गरिन्छ,यसै कारण जनै पूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ,वर्षभरि भएका कमी–कमजोरी र धार्मिक कर्ममा भएका त्रुटिप्रति प्रायश्चित गर्दै नयाँ संकल्प गर्ने दिनका रूपमा समेत यस पर्वलाई लिइन्छ। 
रक्षा बन्धन शब्द दुई शब्दबाट बनेको छ ,‘रक्षा’ अर्थात् सुरक्षा र ‘बन्धन’ अर्थात् सम्बन्धको गाँठो,यस दिन पुरोहितले मन्त्र उच्चारण गर्दै भक्तजनको नाडीमा रक्षा डोरो बाँधिदिने परम्परा छ,पौराणिक मान्यताअनुसार देवता र दानवबीचको संघर्षका क्रममा गुरु बृहस्पतिले देवगणको रक्षाका लागि रक्षा विधान गरी रक्षा सूत्र बाँधिदिएको कथासँग यो परम्परा जोडिएको पाइन्छ, यही धार्मिक विश्वासका आधारमा आज पनि रक्षा सूत्र बाँध्ने चलन कायम रहेको छ। 
नेपालका विभिन्न क्षेत्रमा जनै पूर्णिमालाई रक्षा बन्धन वा राखी पर्वका रूपमा पनि मनाइन्छ,विशेषगरी तराई–मधेस तथा अन्य समुदायमा दिदीबहिनीले दाजुभाइको हातमा रंगीचंगी राखी बाँधेर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने प्रचलन छ,दाजुभाइले पनि दिदीबहिनीप्रतिको माया, सम्मान र संरक्षणको प्रतिबद्धता व्यक्त गर्दै उपहार दिने चलन छ,यसले केवल धार्मिक परम्परालाई मात्र नभई दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने सामाजिक सन्देश दिन्छ। 
जनै पूर्णिमाको अर्को लोकप्रिय विशेषता हो क्वाँटी, विभिन्न नाैं प्रकारका गेडागुडी भिजाएर टुसा उमार्दै तयार पारिएको क्वाँटीको झोल यस दिन विशेष रूपमा खाने गरिन्छ, नेपालको कृषि संस्कृतिसँग क्वाँटी खाने परम्पराको सम्बन्ध रहेको मानिन्छ, वर्षायाममा खेतीपातीको काममा व्यस्त रहने किसान तथा सर्वसाधारणका लागि पोषणयुक्त गेडागुडीको परिकार उपयोगी हुने भएकाले पनि यसको सांस्कृतिक महत्व बढेको देखिन्छ, काठमाडौं उपत्यकाको नेवार समुदायमा जनै पूर्णिमालाई गुन्हु पुन्ही वा क्वाँटी पुन्हीका रूपमा मनाउने गरिन्छ, यस दिन घर–घरमा क्वाँटी पकाउने र विशेष धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने परम्परा छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु