मंगलवार २३ भाद्र, २०८३
भदौ २३ काठमाडौं ,नेपाल मेडिकल कलेज काठमाडौं र नेशनल मेडिकल कलेज वीरगञ्जले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिने उद्देश्यले दुवै मेडिकल कलेजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्,सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेको जनाएको छ।
नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनका अनुसार रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै संस्थाको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँ प्रदान गरिएको हो।
डा. यासमिनले विपद्को विषम परिस्थितिमा सबै क्षेत्रले राज्यसँग हातेमालो गर्नुपर्ने बताउँदै देशका जुनसुकै क्षेत्रमा नागरिक पीडामा परेका बेला आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्दै यो विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ,देशको जुनसुकै क्षेत्रमा जनता पीडामा छन् भने हामीले पनि आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्नैपर्छ भन्ने हाम्रो सोच र राज्यलाई आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग गर्न हामी तत्पर रहेकाे बताउनु भयाे ।
राहत रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले दुवै मेडिकल कलेजले पुर्याएको योगदानको प्रशंसा गरेका छन्, देश संकटमा परेका बेला प्रत्येक नागरिक तथा संस्थाले आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले देखाएको उदारता र सहकार्यप्रति सरकार कृतज्ञ रहने बताउनु भयाे ।
स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्का बेला समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ संस्थागत सहयोग गरिएको दुवै मेडिकल कलेजले जनाएका छन्, विपद्को समयमा आर्थिक सहयोगसँगै स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य तथा ऐक्यबद्धता पनि उत्तिकै महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
दुई स्वास्थ्य संस्थाको संयुक्त पहलले विपद्को घडीमा निजी स्वास्थ्य क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ, प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यका प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यस योगदानले ‘विपद्मा सबैको साथ’ भन्ने मानवीय भावनालाई थप बलियो बनाएको छ।
नेशनल मेडिकल कलेज वीरगञ्ज र नेपाल मेडिकल कलेज काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।