शुक्रबार २ आश्विन, २०८३
असाेज २ काठमाडौं ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामै १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ देखि भदौ ३१ गतेसम्म अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी र सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्,बरामद सुनको अनुमानित मूल्य ४ करोड २५ लाख ७३ हजार १ सय ८४ रुपैयाँ रहेको छ।
प्रारम्भिक अनुसन्धानमा विदेशबाट नेपाल फर्किएका नेपाली यात्रुलाई प्रलोभनमा पारी तस्करहरूले सुन भित्र्याउन प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ, पक्राउ परेका व्यक्ति र बरामद सुनबारे थप अनुसन्धान भइरहेको छ।
सोही अवधिमा भन्सार छली ल्याइएका मोबाइल, ल्यापटप, आईप्याडलगायत ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्रीसहित १० जना पक्राउ परेका छन्। उनीहरूलाई कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयले तस्करी नियन्त्रणका लागि जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ, सूक्ष्म निगरानी तथा सूचना संकलनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। प्रहरीले यात्रुलाई गैरकानुनी वस्तु ओसारपसार नगर्न र तस्करको प्रलोभनमा नपर्न आग्रह गरेको छ।
