सोमबार ८ मंसिर, २०८३
मंसिर ७, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ ।
भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुवै प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
भेटवार्तापछि दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने अपेक्षा गरिएको छ । साथै, प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । उनले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसअघि प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन् ।
दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित भइरहेको प्रधानमन्त्री शाहको राजकीय भ्रमणका क्रममा हुने भेटवार्ता र सहमतिलाई विशेष चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणका सबै कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।