मंगलवार ९ मंसिर, २०८३ (Tuesday November 24, 2026)

रसुवाको बाढीमा परि बेपत्ता भएका गोठगाउँका गुन्ज र राजनको कुशको शव बनाई अन्त्येष्टि

मंगलवार ९ मंसिर, २०८३ Bichar Batika 1293


रसुवाको बाढीमा परि  बेपत्ता भएका गोठगाउँका गुन्ज र राजनको कुशको शव बनाई अन्त्येष्टि

मंसिर  ८ , रामेछाप । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका रामेछापका दुई जनाको हिजाे हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।
बाढीका कारण रसुवाको टिमुरेबाट सम्पर्कविहीन भएका रामेछाप नगरपालिका–१, गोठगाउँ–गोठपानीका गुन्ज श्रेष्ठ र हेमलाल श्रेष्ठ (राजन) को कुशको शव बनाई अन्तिम संस्कार गरिएको हो ।

पारिवारिक सदस्यका अनुसार गुन्ज श्रेष्ठको पशुपति आर्यघाटमा र हेमलाल श्रेष्ठ (राजन) को गोठगाउँ–गोठपानीस्थित लर्खु खोला र लिखु खोलाको दोभानमा रहेको घाटमा दाहसंस्कार गरिएको छ ।
गत भदौ १० गतेदेखि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेको थियाे। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको न सास फेला पर्न सक्यो, न त शव नै भेटियो । त्यसपछि हिन्दु धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाई अन्त्येष्टि गरिएको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।

बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तको लामो समयसम्म कुनै खबर नआएपछि परिवारले बाध्य भएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो ।
लामो समयदेखि आफन्त फर्किने आशामा बसेका परिवारजनका लागि यो क्षण अत्यन्त पीडादायी बनेको छ । घटनाले गोठगाउँ–गोठपानीसहित आफन्तजन र स्थानीय समुदायलाई शोकाकुल बनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु