आईतवार ११ आश्विन, २०८३ (Sunday September 27, 2026)

नेशनल मेडिकल कलेजले पिजी चिकित्सक फिर्ता बोलाउन त्रिविसँग गुहार

शनिबार १० आश्विन, २०८३ Bichar Batika 1172


नेशनल मेडिकल कलेजले पिजी चिकित्सक फिर्ता बोलाउन त्रिविसँग गुहार

असाेज १० वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सक (पिजी) लाई कलेजबाट फिर्ता बोलाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) समक्ष आग्रह गरेको छ।
कलेजले शुक्रबार जारी गरेको विज्ञप्तिमा पटक–पटक वार्ता र समाधानको प्रयास गर्दा पनि सहमति बन्न नसकेको तथा आन्दोलनका कारण शैक्षिक र क्लिनिकल सेवा प्रभावित भएको दाबी गरेको छ।
कलेजका अनुसार चिकित्सकहरूले सुरुमा स्टाइपेन्ड तथा प्रोत्साहन भत्ता, बिदाको हाजिरी र २४ घण्टे ड्युटीपछि विश्राम सम्बन्धी तीन माग राखेका थिए। ती विषय समाधान गर्ने प्रयास भइरहेकै बेला थप मागसहित पेन–डाउन आन्दोलन सुरु गरिएको कलेजको भनाइ छ।
पछि कानुनी मुद्दा फिर्ता, स्त्री तथा प्रसुति विभागको अनुशासनात्मक विषय, आन्दोलन अवधिको तलब–हाजिरी र बायोमेट्रिक हाजिरी लगायतका माग थपिएको कलेजले जनाएको छ।
कलेजले १८ सेप्टेम्बरमा वार्ता र २० सेप्टेम्बरमा लिखित समाधान प्रस्ताव अघि सारेको तर आन्दोलनरत चिकित्सकहरूले प्रस्तावमा हस्ताक्षर नगरेको दाबी गरेको छ।
आन्दोलनका क्रममा ड्युटीमा रहेका चिकित्सक तथा संकाय सदस्यलाई घेराउ तथा दबाब दिइएको आरोप लगाउँदै कलेजले यसबाट शैक्षिक अनुशासन, पेशागत मर्यादा र सुरक्षित क्लिनिकल वातावरणमा असर परेको जनाएको छ।
कलेजले पटक–पटकको वार्ता र समाधान प्रयासपछि पनि संस्थागत विश्वास कमजोर बनेको भन्दै शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका पिजी चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन त्रिविसँग अनुरोध गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु