आईतवार ११ आश्विन, २०८३ (Sunday September 27, 2026)

आचार्य’ले ततायो सिनेमा हल, निखिलको एक्सनमा दर्शकको उत्साह

शनिबार १० आश्विन, २०८३ Bichar Batika 1147


आचार्य’ले ततायो सिनेमा हल, निखिलको एक्सनमा दर्शकको उत्साह

असाेज १० काठमाडौँ । एक्सन किङ निखिल उप्रेतीको बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ प्रदर्शनमा आएसँगै देशभरका सिनेमा हलमा दर्शकको चहलपहल बढेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र हेर्न शनिबार बिहानैदेखि विभिन्न हलमा दर्शकको घुइँचो देखिएको थियाे 

निखिल उप्रेतीको निर्माण, लेखन, निर्देशन तथा अभिनय रहेको ‘आचार्य’ले पहिलो दिनको मौसमजन्य चुनौतीबीच पनि दर्शकको ध्यान तानेको छ। चलचित्रले पहिलो दिन देशभर १३७ शो पाएको वितरक पक्षले जनाएको छ। 
विशेषगरी निखिलको एक्सन अवतारले दर्शकको ध्यान खिचेको छ, पर्दामा देखिएका फाइट, स्टन्ट र द्वन्द्वका दृश्यमा दर्शकको हुटिङले हलको माहोल रोमाञ्चक बनेको निर्माण पक्षको दाबी छ। सामाजिक सञ्जालमा पनि चलचित्रको एक्सन, प्रस्तुतीकरण र प्राविधिक पक्षबारे सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। 

‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, दीपराज राणा, प्रमोद अग्रहरि, सजिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची तथा अन्य भारतीय कलाकारको समेत अभिनय छ। 
करिब एक दशकपछि निर्देशनमा फर्किएका निखिलले चलचित्रलाई एक्सनप्रधान शैलीमा प्रस्तुत गरेका छन्। चलचित्रमा एक्सनसँगै भावनात्मक पक्ष र अन्यायविरुद्धको संघर्षलाई पनि कथाको आधार बनाइएको छ। 
चलचित्र प्रदर्शनअघि सार्वजनिक गरिएको ट्रेलरले समेत दर्शकमाझ राम्रो चर्चा पाएको थियो। ट्रेलर सार्वजनिक भएपछि निखिलको एक्सन शैली र चलचित्रको प्रस्तुतीकरणलाई लिएर दर्शकको चासो बढेको थियो। 
‘आचार्य’को पहिलो दिनको मौसमले केही हलमा दर्शक उपस्थिति प्रभावित गरे पनि दोस्रो दिन दर्शकको चहलपहल बढेको देखिएको छ। अब चलचित्रले आगामी दिनमा दर्शकको साथलाई कति निरन्तरता दिन सक्छ भन्नेमा फिल्म क्षेत्रको ध्यान केन्द्रित भएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु