बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

रसायनिक मल कालोबजारी गर्ने चारजनामाथि कारवाही

सोमबार २९ भाद्र, २०७७ विचारबाटिका 1262

भदौ २९, चितवन । कृषि उपज उत्पादन बढाउनका किसानका लागि अत्यावश्यक मानिएको रसायनिक मल अभाव भइरहेको बेला चितवनमा भने मल कालोबजारी गर्दै विक्रीवितरण गरिएको पाइएको छ । 

यसरी कालोबजारी गर्दै विक्रीवितरण गर्ने व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले कारवाही गरेको छ । चिनवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले मल कालोबजारी गरेको ठहर गर्दै उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनको छ । त्यसैले सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सरकारबाट अनुदानमा मल लिएर किसानलाई बढी शुल्कमा बेचिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना र सहकारीकै सदस्यहरु निर्मला घिमिरे र मायानाथ अर्याल रहेका छन् ।

प्रशासनले सहकारीमार्फत जफत गरिएको रसायनिक मल विक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र त्यसबापतको रकम राजश्वमा जम्मा गर्ने निर्णय समेत भएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु