आईतवार ८ चैत्र, २०७७
चैत ८, काठमाडौं । रंगहरूको पर्व भनेर मनाइने होलीको विधिवत सुरुवात आइतबारदेखि देशभर भएको छ ।
बिहान ८:२६ मा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने चाड होली पहाडमा यो वर्ष चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।
वसन्तपुरमा चीर ठड्याउनु अगाडि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन पहिले देखि नै छ । त्यसैगरी पशुपतिनाथबाट बाजागाजाका साथ उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरमा चीर ठड्याउने गरिन्छ ।
नासलचोकमा भगवान् कृष्णले गोपिनीसँग लीला गरेको प्रतिमा राखेर कृष्णलीलाको स्मरण गरिने कर्माचार्यले बताए । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्य बताउँछन् । राजधानीको धालसिक्व टोलका मानन्धरहरूले करिब ३० फिट अग्लो उक्त चीरलाई ठड्याउने गर्छन् ।
नेपाली सेनाको शार्दुलजङ्ग गुल्मको टोलीले श्लेषमान्तक वनबाट मयलको रुखको हाँगा ल्याएर चीर बनाई हनुमानढोका दरबारको मोहनकाली चोक, त्रिशूलचोक, नासलचोकमा पनि विभिन्न ध्वजासहितको चीर ठड्याइएपछि होलीको औपचारिक सुरुवात हुने चलन भएको हनुमान ढोका दरबार संग्रहालयका संग्रहालय अधिकृत जयनारायण कार्कीले बताए ।
फागुन शुक्ल पूर्णिमाको राति रंगीचंगी कपडाहरूले बाँधिएको तीन तले चीर टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।