सोमबार १ मंसिर, २०८३ (Monday November 16, 2026)

चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा, ३ करोड ५६ लाखभन्दा बढीको व्यापार

आईतवार ३० कार्तिक, २०८३ Bichar Batika 1114


चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा, ३ करोड ५६ लाखभन्दा बढीको व्यापार

कार्तिक २९, काठमाडौं । गत असोज ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मनाएको हो।
बक्सअफिसमा औसत व्यापार गरे पनि दर्शकबाट राम्रो प्रतिक्रिया (पब्लिक रिभ्यू) पाएको चलचित्र ‘बाः एक योद्धा’ पछिल्ला दिनमा केही चलचित्र हलबाट बाहिरिसक्दा पनि अझै केही हलमा प्रदर्शन भइरहेको छ।
हरि लम्सालको डेब्यू निर्देशनमा बनेको यस चलचित्रले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस कलेक्सन गरेको बक्सअफिस रिपोर्टमा उल्लेख छ। पहिलो निर्देशनमै चलचित्रलाई प्रदर्शनको ५१औँ दिनसम्म पुर्‍याउन सफल भएपछि निर्देशक लम्सालका लागि यो उपलब्धि बनेको छ।
पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण, त्याग र मेहनतसँगै वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। त्यस्तै, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु