आईतवार ३० कार्तिक, २०८३ (Sunday November 15, 2026)

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ विधि गरिँदै

शुक्रबार २८ कार्तिक, २०८३ Bichar Batika 1149


आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ विधि गरिँदै

कार्तिक २७, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार छठ पर्व धुमधामका साथ मनाइन्छ।
छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर ‘नहाय–खाय’ विधि पूरा गर्छन्। पर्वको दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा ‘खरना’ गरिन्छ। तेस्रो दिन षष्ठीका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो तथा अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।

सूर्यदेव र षष्ठी माताको पूजा तथा उपासना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तानको दीर्घायुको कामना गरिन्छ। छठ पर्वमा सूर्यलाई जीवन, ऊर्जा र शक्तिको स्रोतका रूपमा पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
छठ पर्वको विशेषता सामाजिक सद्भाव र समानता पनि हो। यस अवसरमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई छठघाटमा सामूहिक रूपमा सूर्यको आराधना गर्ने परम्परा छ। यसले आपसी एकता, सहकार्य, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ।
छठ पर्व नजिकिएसँगै विशेषगरी मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ। नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा छठघाट सजाउने, सरसफाइ गर्ने र पूजाका सामग्री जुटाउने काममा स्थानीयवासी व्यस्त भएका छन्।
धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्व पछिल्लो समय तराई–मधेसमा मात्र सीमित नभई काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा समेत उत्साहका साथ मनाउन थालिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु