आईतवार ३० कार्तिक, २०८३ (Sunday November 15, 2026)

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

शनिबार २९ कार्तिक, २०८३ Bichar Batika 1145


आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

कार्तिक २८, मधेस । मिथिलासहित तराई–मधेश क्षेत्रमा छठ पर्वको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको आज दोस्रो दिन व्रतालुहरूले श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गर्दैछन्।
पर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि गरी व्रतालुहरूले व्रत सङ्कल्प गरेका थिए। आज पञ्चमी तिथिका दिन बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर साँझ चन्द्रदर्शनपछि सख्खर, दूध र चामलबाट बनाइएको खीर छठी मातालाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। यस विधिलाई ‘खरना’ भनिन्छ।
छठ पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिन व्रतालुहरूले जलाशय तथा नदी किनारमा बनाइएका आकर्षक घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि पर्व समापन हुनेछ।
छठ पर्वमा ठकुवा, भुसुवा, नरिवल, केरा तथा विभिन्न फलफूल प्रसादका रूपमा चढाउने गरिन्छ। विशेषगरी शुद्धता, श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई यस पर्वको मुख्य पक्ष मानिन्छ।
केही वर्षअघिसम्म मधेशी हिन्दू समुदायमा मात्र बढी प्रचलित छठ पर्व पछिल्लो समय पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। विभिन्न धर्म, जाति र समुदायको सहभागिता बढ्दै जाँदा छठ पर्व सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत स्थापित हुँदै गएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु