मंगलवार १० चैत्र, २०७७
चैत १०, काठमाडौँ । सरकारले गरेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको आठ लाख खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । यही चैत १५ गते कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भर्ने भएको हो ।
कोरोना खोप बेजिङबाट लिएर निगमको जहाज चैत १६ गते राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन् ।
मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।
बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५ः३० बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।