शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण हवाई माध्यम

बिहीबार १७ भाद्र, २०७८ विचारवाटिका 2231


दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण हवाई माध्यम

भदौ १७, पोखरा र सिमरामा सीधा उडान प्रारम्भ भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकोमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले जोड दिइएको छ ।
लामो समयदेखि चर्चा पाएको गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामासीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विशेष पहल गरेका थिए ।

पहलस्वरुप बुधबारदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताउनुभएको हो ।

पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तक्र्रिया गरेको छ ।

अन्तक्र्रियामा क्रममा वक्ताले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।

बुधबार सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश नं २ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सीधा उडानबाट गण्डकी प्रदेश र प्रदेश नं २ दुवै लाभान्वित बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनाउँदै गढीमाई र गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल एकापसमा जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आगामी दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटकीय गतिविधि बढ्नका लागि हवाई सञ्जालसँग जोडिनु आवश्यक भएको बताउँदै पोखरा–सिमरा उडानले गाडीबाट गर्नुपर्ने १० घण्टाको यात्रालाई आधार घण्टामा छोट्याएको बताउनुभयो ।

कोरोनाले थलिएको पर्यटनलाई अघि बढाउनका लागि सीमानाका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै तत्काल खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले निकुञ्जमा धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी पाइए पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग हुन नसकेको बताउनुभयो ।

नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले कोरोना प्रभावित पर्यटनलाई पुनःरुत्थान गर्न प्रदेश–प्रदेशबीचका सीधा उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, होटल क्लाक्र्स रिसोर्टका सञ्चालक सुनिलकुमार खेतानलगायतले पोखरा–सिमरा उडानसँगै दुवै प्रदेशबीचको पर्यटकीय, औद्योगिकलगायतका क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु