आईतवार ९ कार्तिक, २०८३
असोज ८, काठमाडौँ । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमाका अवसरमा धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा–आराधना तथा रातभर जाग्राम बसेर समापन गरिँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो दुर्गा पक्ष आज पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न हुन लागेको हो।
आश्विन शुक्ल पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ। यस दिन जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रबमोजिम गर्नुपर्ने अखिल बलिपूर्तिको कार्यसमेत सम्पन्न गरिन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दै मान्यजनबाट आशीर्वाद लिने क्रम पनि अन्त्य हुन्छ। दसैँमा प्रयोग गरिएका जमरालाई आज नजिकैका नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ।
दसैँको नवरात्र विजयादशमीका दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै टुङ्गिन्छ। यस दिन महालक्ष्मीको विशेष आराधना गरी दसैँलाई औपचारिक रूपमा बिदाइ गरिन्छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको पूजा गरिने भएकाले पनि यस पूर्णिमाको धार्मिक महत्त्व विशेष रहेको छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
धार्मिक मान्यताअनुसार आज राति जुवा खेल्ने परम्परासमेत रहेको छ। महालक्ष्मीका साथै हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने विधान रहेको बताइन्छ।
यसैबीच, समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक स्नान तथा तुलसीको विशेष पूजा–आराधना कात्तिक ९ गते सोमबारदेखि सुरु हुने उल्लेख छ। सोही दिनको साँझदेखि आकाशदीपदान गर्ने परम्परा पनि आरम्भ हुनेछ।
कोजाग्रत पूर्णिमासँगै दसैँको टीका, जमरा र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम समाप्त भएसँगै नेपालीको महान् पर्व बडादसैँले औपचारिक रूपमा बिदा लिनेछ।