शुक्रबार ४ श्रावण, २०८१ (Friday July 19, 2024)

अब बन्ने सरकारलाई असफल हुने छुट छैनः अध्यक्ष ओली

शुक्रबार २२ असार, २०८१ विचारवाटिका 1108


अब बन्ने सरकारलाई असफल हुने छुट छैनः अध्यक्ष ओली

असार २१काठमाडौं ,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबीचको समझदारीमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभएको छ । 
आज नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएकाले नयाँ बन्ने सरकारलाई असफल हुने छुट नभएको प्रस्ट पार्नुभयो । 
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा कांग्रेसलाई सरकारमा भित्र्याउने र एमालेलाई गतबर्षजस्तै सरकारबाट बाहिर पार्ने योजनाका साथ अगाडि बढेपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको स्पष्ट गर्नुभयो । आफूलाई प्रधानमन्त्री बन्न दिनुहुँदैन भनेर कम्युनिष्ट नेताहरू नै लागिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– सरकार परिवर्तन हुन्छ, हामी सरकारमा हुन्छौं । 
अध्यक्ष ओलीले दुई ठुला दल नयाँ समीकरणका लागि समझदारी गरिसकेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा हास्यास्पद भएको भन्दै मानिस कहिले काहिँ भ्रममा बाँचिरहने बताउनुभयो । 
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अत्यन्त उदारमनका साथ प्रधानमन्त्री बनाइएको र एमाले सरकारमा सहभागी भन्दा पनि सहयोगीको रूपमा उपस्थिति भएर सहयोग गरेको चर्चा गर्दै अध्यक्ष ओलीले अनेक प्रयास गर्दा पनि देशले भोगिरहेका समस्या समाधान गर्ने दिशामा सरकारबाट ठ्याक्कै केही नभएको बताउनुभयो ।

 
अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन विभागहरूलाई निर्देशन दिनुभयो ।  
अध्यक्ष ओलीले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताउनुभयो । पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टी काममा लाग्न निर्देशन दिँदै मिसन–२०८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु