शुक्रबार २ श्रावण, २०८२
साउन २ विरगञ्ज , खानेपानी मन्त्री प्रदिप यादवको विशेष उपस्थितिमा खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको थियाे ।
उक्त समझदारी अनुरूप अबदेखि नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकहरूलाई नि:शुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

संस्थानको वीरगञ्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिनेछ, जसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्नेछ ,आज यस समझदारीपत्र हस्ताक्षरले वीरगञ्जबासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिईएको मन्त्री यादवले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि मन्त्रालय, विभाग तथा खानेपानी संस्थान अहोरात्र खटिएको समेत मन्त्री यादवले बताउनुभयो ।
आजको उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, खानेपानी संस्थानका अध्यक्ष डा. ढुण्डिराज भट्टराई, संघीय खानेपानी तथा ढल व्यवस्थापन पर्सा प्रमुख बिपुल दास, नेपाल खानेपानी संस्थान पर्सा प्रमुख प्रबीन साह, नेपाल खानेपानी संस्थान बारा प्रमुख सञ्जीब यादव, बीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत अरबिन्दलाल कर्ण, नेपाल खानेपानी सस्थानका बोर्ड सदस्य लगायतको सहभागीता रहेको थियो ।