आईतवार १७ श्रावण, २०८३
साउन १७ ललितपुर , जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा आयोजित विशेष सम्मान / स्मृति कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा जननायक तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले राष्ट्र, राजनीति तथा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, केशव बडाल, कमला अमात्य तथा भीमप्रसाद उपाध्यायलाई विशेष सम्मान प्रदान गरेको थियो।

सम्मानित व्यक्तित्वहरूले जननायक अमात्यको विचार, आदर्श र त्यागले नेपाली राजनीतिक आन्दोलनलाई आज पनि प्रेरणा दिइरहेको उल्लेख गर्दै उहाँका सिद्धान्तलाई नयाँ पुस्तामाझ पुर्याउनुपर्ने आवश्यकता औँल्याएका थिए,स्मृति दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गर्नुकाे साथै जननायक तुल्सीलाल अमात्यप्रति सामूहिक श्रद्धाञ्जली अर्पण, स्मरण मन्तव्य तथा विविध कार्यक्रमका प्रमुख आकर्षण बनेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, युवा, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो, सहभागीहरूले जननायक तुल्सीलाल अमात्यले स्थापित गर्नुभएको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता तथा जनमुखी राजनीतिक आदर्शलाई वर्तमान सन्दर्भमा थप सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ,स्मृति दिवसले जननायक तुल्सीलाल अमात्यको विचार, योगदान र संघर्षलाई पुनः स्मरण गर्दै उहाँका आदर्शलाई भावी पुस्तासम्म पुर्याउने साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

करिब ३०० जनाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा जननायक अमात्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको राजनीतिक दूरदृष्टि, लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान तथा समाजवादी विचारधाराको संरक्षण र प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो, कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष माधव पौडेलले स्वागत मन्तव्य व्यक्त राख्नुकाे थियो भने कार्यक्रमको सञ्चालन हिमबहादुर क्षेत्रीले गर्नुभएको थियो।
