बुधबार १० भाद्र, २०८३
भदौ १० काठमाडौं , गाेठगाउँ सरोकार समाजले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ, समाजले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
कान्तिपुर रक्तसञ्चार सेवा, सुविधानगर–तिनकुनेको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोडान) पूर्वी भेगीय क्षेत्र कोटेश्वरको सहकार्यमा यहि भदौ १३ गते शनिबार काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित शंखपार्कभित्र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने आयाेजकले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
गाेठगाउँ सरोकार समाजले कार्यक्रममा समाजका सम्पूर्ण आजीवन सदस्य, शुभचिन्तक तथा स्वयंसेवक रक्तदाताहरूलाई उपस्थित भई रक्तदान गर्न हार्दिक अनुरोध गरेको छ, समाजले रक्तदानलाई केवल सामाजिक सेवा मात्र नभई आवश्यक परेका व्यक्तिको जीवन बचाउन प्रत्यक्ष योगदान पुर्याउने महत्वपूर्ण मानवीय कार्यका रूपमा लिँदै आएको जनाएको छ।
गाेठगाउँ सरोकार समाज रामेछाप नगरपालिका–१, गाेठगाउँसँग जोडिएका व्यक्ति तथा समुदायबीच आपसी सम्बन्ध, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्यसहित विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ,समाजले आफ्ना सदस्य तथा शुभचिन्तकहरूसँगको सहकार्यमा सामाजिक सद्भाव, सहयोग र समुदायसँग जोडिएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।
समाजले सदस्य तथा समुदायसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्य राखेको छ, यसैक्रममा वार्षिक कार्ययोजनामा समावेश गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई पनि समाजले मानवीय सेवासँग जोडिएको महत्वपूर्ण सामाजिक अभियानका रूपमा अघि बढाएको हो, समाजले रक्तदान कार्यक्रमकाे आयाेजना मात्र हाेईन ब्लडकाे अभाव भएकाे बिरामीहरूलाई ब्लड व्यवस्थापन गर्न सहजीकरण समेत गर्दै आहिरहेकाे छ ।
समाजले रक्तदान कार्यक्रमलाई सफल बनाउन सबै आजीवन सदस्य, शुभचिन्तक तथा इच्छुक रक्तदाताको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।