शनिबार १३ भाद्र, २०८३
भदाै १३ काठमाडौं , नेपालको मौलिक संस्कृति र परम्परासँग जोडिएको गाईजात्रा पर्व आज विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रद्धा, परम्परा, हास्य र व्यङ्ग्यका विविध कार्यक्रमसहित मनाइन्छ, नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा परिचित गाईजात्रा मृतक आफन्तको सम्झना गर्ने, शोकमा रहेका परिवारलाई सान्त्वना दिने तथा समाजमा हाँसो र मनोरञ्जनमार्फत दुःख कम गर्ने पर्वका रूपमा स्थापित छ।
नेपाल भाषामा गाईजात्रालाई ‘सापारु’ पनि भनिन्छ, ‘सा’को अर्थ गाई र ‘पारु’को अर्थ प्रतिपदा तिथि हो, हरेक वर्ष चन्द्र पात्रोअनुसार पर्ने यस पर्वमा विशेषगरी विगत एक वर्षभित्र परिवारका सदस्य गुमाएका परिवारहरू सहभागी हुने परम्परा रहिआएको छ।
गाईजात्राको मुख्य उद्देश्य विगत एक वर्षभित्र दिवङ्गत भएका आफन्तजनको सम्झना गर्नु र उनीहरूको आत्माको शान्तिको कामना गर्नु हो, हिन्दू धार्मिक विश्वासअनुसार गाईलाई पवित्र र पूजनीय प्राणी मानिन्छ, गाईले मृत आत्मालाई परलोकको यात्रामा मार्गदर्शन गर्ने जनविश्वास रहिआएको छ,यसै कारण परिवारमा कसैको मृत्यु भएको खण्डमा गाईलाई जात्रामा सहभागी गराउने वा गाई उपलब्ध नभए बालबालिकालाई गाईको स्वरूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा विकसित भएको मानिन्छ।
गाईजात्राको वर्तमान स्वरूपको इतिहास मल्लकालीन राजा प्रताप मल्लसँग जोडिएको पाइन्छ, जनश्रुतिअनुसार राजाको छोराको असामयिक निधन भएपछि रानी अत्यन्तै शोकमा डुबिन्, राजाले रानीको दुःख कम गर्न विभिन्न उपाय अपनाए,त्यसपछि राजाले आफ्ना प्रियजन गुमाएका सबै परिवारलाई सार्वजनिक रूपमा जात्रामा सहभागी हुन आग्रह गरेको बताइन्छ,जब रानीले आफ्नो जस्तै धेरै परिवारले पनि प्रियजन गुमाएर शोक भोगिरहेको देखिन्, तब उनको मनमा केही सान्त्वना मिल्यो भन्ने किंवदन्ती छ।
यसरी व्यक्तिगत शोकलाई सामूहिक रूपमा बाँड्ने परम्पराका रूपमा गाईजात्राको विकास भएको मानिन्छ, पछि यस पर्वमा हास्य, व्यङ्ग्य, प्रहसन र मनोरञ्जन समेत जोडिँदै गाईजात्राले अहिलेको विशिष्ट सांस्कृतिक स्वरूप प्राप्त गरेको हो।
गाईजात्राको अवसरमा विगत एक वर्षभित्र परिवारका सदस्य गुमाएका परिवारले आफ्ना बालबालिका वा अन्य व्यक्तिलाई विशेष पोशाकमा सजाएर गाईको प्रतीकात्मक स्वरूपमा जात्रामा सहभागी गराउँछन् ,गाई वा गाईको प्रतीकात्मक स्वरूपमा सजिएका बालबालिकाको नगर परिक्रमा गराइन्छ,परम्परागत बाजागाजा बजाएर विभिन्न देवीदेवताको झाँकी प्रस्तुत गरिन्छ,
रंगीचंगी तथा अनौठा पोशाक लगाइन्छ,नाचगान र सांस्कृतिक कार्यक्रम आयोजना गरि हास्यव्यङ्ग्य तथा प्रहसन प्रस्तुत गरिन्छ।
विशेषगरी काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा समाज र राजनीतिका विकृति तथा विसङ्गतिमाथि व्यङ्ग्य गर्ने पुरानो परम्परा पनि रहेको छ। यही कारण गाईजात्रालाई अभिव्यक्ति, हास्य र सामाजिक व्यङ्ग्यको पर्वका रूपमा समेत लिइन्छ।
गाईजात्राको सबैभन्दा महत्वपूर्ण विशेषता भनेकै शोक र हाँसोको संगम हो, एकातिर मानिसहरूले दिवङ्गत आफन्तको सम्झना गर्छन् भने अर्कोतर्फ हास्य, व्यङ्ग्य र मनोरञ्जनका माध्यमबाट जीवनमा आइपर्ने दुःखलाई स्वीकार गर्दै अगाडि बढ्ने सन्देश दिइन्छ,नेपाली समाजमा मृत्यु जीवनको शाश्वत सत्य भएको सन्देशसमेत गाईजात्राले दिने गरेको छ,दुःखलाई एक्लै बोकेर बस्नुभन्दा समाजसँग बाँड्दा पीडा कम हुन्छ भन्ने मानवीय भावना यस पर्वभित्र रहेको देखिन्छ।
गाईजात्रा विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायमा धुमधामका साथ मनाइन्छ, स्थानअनुसार जात्रा मनाउने शैली, सांस्कृतिक कार्यक्रम र परम्परामा केही भिन्नता पाइन्छ, विशेषगरी भक्तपुरमा गाईजात्रा लामो समयसम्म विभिन्न सांस्कृतिक गतिविधिसहित मनाउने परम्परा रहेको नेपाल पर्यटन बोर्डले उल्लेख गरेको छ,गाईजात्रा केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र होइन, यसले समाजमा रहेका विकृति, विसङ्गति र कमजोरीमाथि खुला रूपमा व्यङ्ग्य गर्ने अवसर पनि प्रदान गर्छ,हास्य र व्यङ्ग्यका माध्यमबाट शक्तिशाली व्यक्ति, सामाजिक प्रवृत्ति तथा सार्वजनिक जीवनका कमजोरीमाथि टिप्पणी गर्ने परम्पराले गाईजात्रालाई नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पहिचान बनाएको छ।