शुक्रबार १६ आश्विन, २०८३
असोज १६ काठमाडौं । नेपालले पहिलोपटक आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै क्रिकेट पूर्वाधार निर्माण तथा मैदान स्तरोन्नतिको काम तीव्र पारिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ठूला प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुर र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापन सुधारलाई प्राथमिकतामा राखेको हो।
आगामी पुसमा यू–१९ महिला विश्वकप र कात्तिकदेखि एनपीएल आयोजना हुँदैछ। प्रतियोगितालाई व्यवस्थित बनाउन मैदानमा आवश्यक संरचना निर्माणसँगै दर्शक व्यवस्थापन, पार्किङ र अन्य सुविधामा समेत सुधारको तयारी भइरहेको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले बताएका छन्।
उनका अनुसार एनपीएलका अघिल्ला संस्करणमा देखिएका कमजोरीलाई यसपटक सुधार गर्दै दर्शकलाई सहज र व्यवस्थित रूपमा खेल हेर्ने वातावरण बनाउने तयारी छ। बाइक स्ट्यान्ड, सवारी पार्किङ तथा मैदानको समग्र व्यवस्थापनलाई व्यवस्थित गर्न क्यानले काम अघि बढाएको छ।
नेपालले पहिलोपटक आयोजना गर्ने यू–१९ महिला विश्वकपका खेल टियु र मूलपानी मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगितालाई लक्षित गरी प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा आईसीसी, एसिसी र खेलाडीका अभिभावकका लागि भीआईपी संरचना निर्माण भइरहेको क्यानले जनाएको छ।
तर, लामो समयदेखि निर्माण तथा स्तरोन्नतिको क्रममा रहेको मूलपानी क्रिकेट मैदान अझै पूर्ण रूपमा तयार हुन नसकेको भन्दै क्यानले सरकारको ध्यानाकर्षण गराएको छ।
सिंहले मूलपानी मैदानको निर्माणलाई शीघ्र गति दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
क्यानले नेपालमा कम्तीमा दुईवटा ठूला क्षमताका अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा जोड दिएको छ। पर्याप्त पूर्वाधार तयार भए विश्वकप, एसिया कप, एसिसी प्रिमियर कप तथा विश्वकप छनोटजस्ता ठूला प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने क्यानको विश्वास छ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदा खेलकुदसँगै पर्यटन, होटल, यातायात तथा अन्य क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
सिंहले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै नेपालीलाई उत्साह र खुसी दिएको उल्लेख गर्दै क्रिकेट पूर्वाधारलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
मूलपानी मैदानको निर्माणले पूर्णता पाए नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने क्षमता थप बलियो हुने क्यानको अपेक्षा छ।