बुधबार १२ कार्तिक, २०८३ (Wednesday October 28, 2026)

  ‘कबड्डी ५’को बक्स अफिसमा सुनामी, पाँच दिनमै ७ करोडमाथिको व्यापार

बुधबार १२ कार्तिक, २०८३ Bichar Batika 1064


  ‘कबड्डी ५’को बक्स अफिसमा सुनामी, पाँच दिनमै ७ करोडमाथिको व्यापार

कार्तिक ११, काठमाडौं । दसैँमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मले अपेक्षित व्यापार गर्न नसकेपछि ‘कबड्डी ५’प्रति दर्शक र फिल्म क्षेत्रले ठूलो आशा राखेका थिए। नभन्दै कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै नयाँ रेकर्ड बनाउने संकेत देखाएको छ।
प्रदर्शनको पहिलो दिन नै झन्डै दुई करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले पाँच दिनमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। निर्माण कम्पनी बाँसुरी फिल्म्सले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार फिल्मले पाँच दिनमै उक्त आँकडा पार गरेको हो।
निर्माता मणिराम पोखरेलका अनुसार दसैँ बिदा सकिएपछि पनि फिल्मले दैनिक एक करोड रुपैयाँभन्दा बढीको व्यापार गरिरहेको छ। प्रदर्शनको छैटौँ दिनमा आइपुग्दा फिल्मले देशभर दुई सयभन्दा बढी शो पाएको छ। तीमध्ये बुधबार करिब ४० प्रतिशत शो हाउसफुल भएका छन्।
रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्मलाई देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’ घोषणा गरेको थियो। क्यूएफएक्समा एक साताभित्र डेढ करोड रुपैयाँको व्यापार गर्ने फिल्मलाई सुपरहिटको मान्यता दिने गरिएको छ। ‘कबड्डी ५’ क्यूएफएक्स चेनमा दुई दिनमै उक्त मान्यता पाउने पहिलो नेपाली फिल्म बनेको बताइएको छ।
थकाली समुदायको सामाजिक परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ र प्रमिला राईलगायत कलाकारको अभिनय रहेको छ।
प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको ‘कबड्डी ५’को यहि व्यापारिक गति कायम रहे नेपाली फिल्मको बक्स अफिसमा नयाँ कीर्तिमान बन्न सक्ने देखिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु