बिहीबार १६ बैशाख, २०७८
वैशाख १६, काठमाडौं । आजदेखि सुरु भएको निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक रुपमा हिँडडुल गर्नेे एक हजार ४५७ जना कारबाहीमा परेका छन् ।
उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए ।
राठौरले भने, ‘कारबाहीमा पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन छन् ।’ उनले भने, ‘मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका छौं ।’
काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली निषेधाज्ञाको कार्यान्वयनका लागि खटिएको छ ।