बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

यसरी मनाइन्छ भक्तपुरको तलेजुको वाहन सेतो घोडाको जात्रा

शनिबार ३० आश्विन, २०७८ विचारवाटिका 1806


यसरी मनाइन्छ भक्तपुरको तलेजुको वाहन सेतो घोडाको जात्रा

असोज ३०, भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्वको रुपमा पुजिने भक्तपुरको तलेजुको वाहनका सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । 
यो जात्रा प्रत्येक वर्ष बडादशैं र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा चलि आएको छ ।

जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा रहेको छ । 
जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ ।


घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोकका साथै माथिल्लो दरबारक्षेत्रको खिछें, चोछें, भोलाछें, थालाछें, गोलमढी, सुकुलढोका र टौमढी घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ ।

जात्रामा दरबार स्क्वायरमा रहेको पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने गरिन्छ ।

खड्ग जात्रा सम्पन्न

हरेक वर्ष भक्तपुरको तलेजुमा बडादशैंको मध्यरातमा मनाइने पायःद्यो (खड्ग) जात्रा गए राति सम्पन्न भएको छ । 
तलेजु भवानीको साक्षात्रुप मानिने पायःद्योलाई रातो कपडाले बेराएर युद्ध कवच पहिर्याएर जात्रा मनाइने गरिन्छ ।

बडादशैंको राति तलेजुको आँगनको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र, शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजु र पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

जात्रामा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुर्याएपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिइन्छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा आयोजना गरिन्छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु