शनिबार २३ श्रावण, २०८३
साउन २३ काठमाडौं ,नेपाल विद्युत् प्राधिकरणले आज र भाेलि (शनिबार र आइतबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने सूचना जारी गरेकाे छ ।
प्राधिकरणले सूचनामा रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जानकारी गराउदै ,शनिबार भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती तथा आसपासका क्षेत्रहरूमा बिहान ८ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द हुने जानकारी गराएकाे छ।
प्राधिकरणले आज शनिवार डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा मध्यान्ह १२ देखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ भने साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गतका लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्याडिशन होटेल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रहरूमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।