सोमबार १ भाद्र, २०८३
भदाै १ काठमाडौँ ,हिन्दू धर्म–संस्कृतिमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ, यस दिन नागदेवताको पूजा–आराधना गरी घरको मूलढोकामाथि नागको चित्र वा तस्बिर टाँस्ने परम्परा नेपालमा प्राचीनकालदेखि चलिआएको पाइन्छ।
नागपञ्चमीका दिन पूजा गरेर घरको मूलढोकामाथि नागको चित्र टाँस्दा घरमा सर्प तथा बिच्छीजस्ता विषालु जीवबाट दुःख नहुने, आगलागी, मेघ तथा चट्याङको भयबाट सुरक्षा हुने धार्मिक विश्वास छ, त्यसैले नागको चित्रलाई घरको सुरक्षाकाे प्रतीकका रूपमा ढोकामा टाँस्ने गरिएको पाहिछ ।
धार्मिक मान्यताअनुसार नागलाई पानी, वर्षा, जमिन र प्रकृतिसँग जोडिएको देवताका रूपमा सम्मान गरिन्छ, नाग खुसी भए वर्षा राम्रो हुने र प्रकृतिमा सन्तुलन कायम रहने विश्वासका कारण पनि नागकाे पूजा गरिने गपरम्पराकाे विकास भएको मानिन्छ।
नागपञ्चमीमा विशेषगरी आठ नाग अर्थात् अष्टनागको पूजा गर्ने परम्परा छ जस्तै अनन्त, वासुकी ,पद्म, महापद्म, तक्षक, कुलीर,कर्कट, र शङ्ख यी नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, धूप–दीप तथा विभिन्न नैवेद्य चढाएर पूजा गरी विधिपूर्वक नागको तस्बिर घरको मूलढोकामा टाँसिने गरिन्छ।
हिन्दू धार्मिक परम्परामा नागको सम्बन्ध भगवान् शिव र विष्णुसँग समेत जोडिएको छ,भगवान् शिवले नागलाई आफ्नो गलामा धारण गर्नुभएको र भगवान् विष्णु शेषनागको शय्यामा विराजमान हुने धार्मिक मान्यता छ, यसैले नागलाई केवल सर्पका रूपमा नभई धार्मिक शक्तिको प्रतीकका रूपमा समेत पूजा गरिन्छ।
नेपाल कृषिप्रधान मुलुक भएकाले नागपञ्चमीको सम्बन्ध खेतीपाती, जमिन र वर्षासँग पनि गहिरो रूपमा जोडिएको ,नागपञ्चमीकाे दिन खेतबारीमा खनजोत गर्दा नाग तथा अन्य घस्रने जीवलाई क्षति पुग्न सक्ने भएकाले खनजोत नगर्ने परम्परा छ,नागपञ्चमीले अप्रत्यक्ष रूपमा प्रकृतिका जीवजन्तुप्रति सम्मान गर्ने सन्देशसमेत दिन्छ।