आईतवार १४ भाद्र, २०८३
भदाै १४ काठमाडौं, अधिवक्ता विष्णु गिरीले रसुवालगायत बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत अधिवक्ता गिरीले बाढी तथा पहिरोका कारण विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले योजनाबद्ध रूपमा आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
उद्धार कार्यमा भइरहेको ढिलाइ तथा आवश्यक उपकरणको अभावप्रति चिन्ता व्यक्त गर्दै गिरीले अन्तर्राष्ट्रिय सहयोग लिन र उच्च प्रविधियुक्त उपकरण प्रयोग गर्न सरकारले ढिलाइ गर्न नहुने बताए,कतिपय प्रभावित क्षेत्रमा अझै राहत नपुगेको गुनासो आइरहेकाले त्यसलाई तत्काल सम्बोधन गर्न पनि गीरीले सरकारसँग आग्रह गरेका छन्।
टनेलभित्र, खोलाको किनार तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र उच्च प्रविधियुक्त आवश्यक उपकरण परिचालन गर्नुपर्नेमा अधिवक्ता गिरीले जोड दिएका छन्।
प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्न सके उद्धार तथा राहत कार्य अझ प्रभावकारी हुने उनको भनाइ छ।
अधिवक्ता गिरीले रसुवामा बाढीपछि स्याफ्रुबेँसी, टिमुरे र भोटेकोशी आसपासका बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेको बताउँदै विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा प्रभावित तथा बाँचेका नागरिकलाई आफन्तको अवस्थाबारे जानकारी लिन र खबर गर्न कठिन भएको उल्लेख गरेका छन्।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो जाने जोखिमसमेत बढेको भन्दै गिरीले सचेत रहन आग्रह गर्दै सडकमा जुनसुकै बेला पहिरो खस्न वा बाढी आउन सक्ने जोखिम रहेकाले अत्यावश्यकबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न गीरीले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकखण्डको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत गीरीले अनुरोध गरेका छन्।