मंगलवार ६ आश्विन, २०८३
असाेज ६ काठमाडौं , राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन तथा असन्तुष्ट समुदायका सवाललाई केन्द्रमा राखेर देशव्यापी बहस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, संविधान दिवसका अवसरमा आयोजित संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले उठेका मुद्दालाई जिल्लास्तरसम्म पुर्याउने निर्णय गरेको हो।
अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन व्यवसायी, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिले संविधान संशोधनको आवश्यकता र विभिन्न समुदायका सवालबारे धारणा राखेका थिए,कार्यक्रममा उठेका सुझाव तथा विचारलाई अभिलेखीकरण गरी आगामी अभियानको आधार बनाउने पार्टीले जनाएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रा. डा. निर्मलमणि अधिकारी, बुद्धछिरिङ मोक्तान, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, समिम मिया अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्मा लगायत सहभागी थिए।
पार्टीका महासचिव सन्तोष मेहताका अनुसार अन्तरक्रियामा उठेका विषयलाई राजधानीकेन्द्रित छलफलमा सीमित नराखी विभिन्न जिल्ला र क्षेत्रमा पुर्याउने तयारी गरिएको छ, उनका अनुसार विभिन्न समुदाय तथा क्षेत्रबाट प्राप्त सुझावलाई समेटेर आगामी कार्यक्रम र अभियानको रूपरेखा तयार गरिनेछ।
संविधान संशोधनको विषयमा विभिन्न राजनीतिक दल तथा समूहले आ–आफ्ना धारणा अघि सारिरहेका बेला राष्ट्रिय मुक्ति पार्टीले असन्तुष्ट समुदायका सवाललाई केन्द्रमा राखेर बहसलाई थप विस्तार गर्ने तयारी गरेको हो, संविधान संशोधनका सम्भावित विषय, समुदायका माग तथा संविधान कार्यान्वयनका सवालमा राजनीतिक र सार्वजनिक बहससमेत जारी छ।