बिहीबार २२ आश्विन, २०८३ (Thursday October 08, 2026)

एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान ‘रेडी’, दर्शक व्यवस्थापनमा विशेष जोड

बुधबार २१ आश्विन, २०८३ Bichar Batika 1136


एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान ‘रेडी’, दर्शक व्यवस्थापनमा विशेष जोड

असाेज २१ काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई नयाँ स्वरूप दिने काम तीव्र पारिएको छ। प्रतियोगिता सुरु हुन करिब तीन साता मात्र बाँकी रहँदा मैदानको स्तरोन्नति, पूर्वाधार निर्माण र दर्शक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार यसपटकको एनपिएललाई विगतका संस्करणभन्दा व्यवस्थित, सहज र भव्य बनाउने गरी तयारी अघि बढाइएको छ।
“तयारीको अन्तिम चरणमा छौँ। प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ,” खड्काले भने, “दसैँसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ।”
एनपिएलको लोकप्रियता बढेसँगै कीर्तिपुर मैदानमा दर्शकको चाप पनि बढ्दै गएको छ। यही अवस्थालाई ध्यानमा राख्दै क्यानले मैदान परिसरमा थप दर्शक अटाउने स्थान पहिचान गरी क्षमता विस्तार तथा संरचनात्मक सुधार गरिरहेको छ।
यसपटक दर्शकको प्रवेशदेखि खेल सकिएर घर फर्किंदासम्मको अनुभव सुधार्ने विषयलाई क्यानले प्राथमिकतामा राखेको छ। मैदान प्रवेश गर्ने बाटो, गेट व्यवस्थापन, आवतजावत र अन्य आवश्यक पूर्वाधारमा सुधारका लागि सम्बन्धित मन्त्रालयसँग समेत समन्वय भइरहेको खड्काले बताए।
गत संस्करणमा दर्शकले शौचालयको अभाव, आवतजावतमा असहजता तथा धुलोको समस्या भोगेका थिए। त्यस्ता समस्या यसपटक दोहोरिन नदिन क्यानले विशेष तयारी गरेको छ।
दसैँ–तिहारबीच एनपिएल, क्यान ढुक्क
दसैँ–तिहारको बीचमा प्रतियोगिता आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने अनुमान गरिए पनि क्यान भने नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ का कारण दर्शकको उत्साहमा कमी नआउनेमा विश्वस्त छ।
सचिव खड्काका अनुसार एनपिएलको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिग र विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो। ती सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारबीचको समय नै उपयुक्त देखिएको उनले बताए।
स्टार विदेशी खेलाडीले थप्नेछन् एनपिएलको चमक
तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले चर्चित विदेशी खेलाडी भित्र्याउने क्रम तीव्र पारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा नाम बनाएका खेलाडीको उपस्थितिले एनपिएलको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ।
टेलिभिजनमा हेर्दै आएका स्टार खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने खड्काको विश्वास छ।
“यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन्। टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ,” उनले भने।
आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुने एनपिएलको तेस्रो संस्करणमा मैदानको पूर्वाधार सुधार, बढ्दो दर्शक चाप र स्टार विदेशी खेलाडीको उपस्थितिले प्रतियोगितालाई थप भव्य बनाउने अपेक्षा गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु