मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

गोठगाउँ सरोकार समाजमा राजनीतिक अनुहार होइन, गोठगाउँकै अनुहार देखिन्छ : अधिवक्ता श्रेष्ठ

सोमबार १९ आश्विन, २०८३ Bichar Batika 1186


गोठगाउँ सरोकार समाजमा राजनीतिक अनुहार होइन, गोठगाउँकै अनुहार देखिन्छ : अधिवक्ता श्रेष्ठ

असाेज १९ काठमाडौं । गोठगाउँ सरोकार समाजको असाेज १७ गते काठमाडौंमा सम्पन्न सातौँ वार्षिक साधारणसभामा अधिवक्ता राजकुमार श्रेष्ठले संस्थाले राजनीतिक विभाजनभन्दा माथि उठेर समग्र गोठगाउँको साझा हितमा काम गरिरहेको बताएकाे थियाे ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले आफूलाई समेत सुरुवाती दिनमा गोठगाउँ सरोकार समाज कुनै राजनीतिक दलको प्रभावमा रहेको संस्था हो कि भन्ने लागेको स्मरण गरेकाे तर संस्थाले पछिल्ला सात वर्षमा गोठगाउँप्रति गरेका सामाजिक तथा सामुदायिक गतिविधि नियाल्दा आफ्नो धारणा पूर्ण रूपमा परिवर्तन भएको बताए।
“मलाई पनि सुरुमा यो संस्था कुनै राजनीतिक पार्टीको अनुहार हो कि जस्तो लागेको थियो ,तर सात वर्षमा संस्थाले गाउँप्रति गरेका गतिविधि हेर्दा अहिले म प्रस्ट भएको छु—यसमा कुनै राजनीतिक अनुहार देखिँदैन, देखिन्छ त केवल गोठगाउँको अनुहार,” श्रेष्ठले भने।
श्रेष्ठले गोठगाउँ सरोकार समाज अहिले गाउँका विभिन्न राजनीतिक विचार र आस्था बोकेका व्यक्तिहरूलाई एउटै थलोमा जोड्ने साझा संस्था बन्न सफल भएको बताए। राजनीतिक रूपमा फरक–फरक धारमा रहे पनि गाउँको विकास र हितका सवालमा सबैलाई एक ठाउँमा ल्याउनु संस्थाको महत्वपूर्ण उपलब्धि भएको श्रेष्ठको भनाइ थियो।
“आज आएर गोठगाउँका सबै पार्टी र विचारका मानिसहरूको एउटै थलोका रूपमा गोठगाउँ सरोकार समाज बन्न पुगेको छ,” “यो संस्थालाई यहाँसम्म ल्याउन आफ्नो समय, श्रम र योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूप्रति धन्यवाद व्यक्त गर्दै श्रेष्ठले संस्थालाई बाहिर बसेर अनुमानका आधारमा मूल्याङ्कन गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। केही गोठगाउँवासीले अझै पनि संस्थालाई राजनीतिक चश्माबाट हेर्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो धारणा परिवर्तन गर्न संस्थाको गतिविधिमा प्रत्यक्ष सहभागी हुन आग्रह गरे।
“अझै पनि गोठगाउँका केही साथीहरूले यस संस्थालाई राजनीतिक रूपमै हेरिरहनुभएको छ। उहाँहरूलाई मेरो आग्रह छ—बाहिर बसेर संस्थालाई जसरी देख्नुभएको छ, वास्तविकता त्यस्तो रहेनछ। एकपटक संस्थामा आबद्ध भएर हेर्नुस्, आफैँ महसुस गर्नुहुनेछ,” श्रेष्ठले  भने।
 गोठगाउँ सरोकार समाज कुनै व्यक्ति, समूह वा राजनीतिक दल विशेषको संस्था नभई सम्पूर्ण गोठगाउँवासीको साझा चौतारीका रूपमा विकास हुनुपर्नेमा जोड दिए संस्थाको साझा चरित्रलाई अझ बलियो बनाउँदै आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विकास निर्माण तथा गाउँको समग्र हितका विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समेत श्रेष्ठले  सुझाव दिदै गोठगाउँको नाममा बनेको संस्था गोठगाउँकै हितमा केन्द्रित हुनुपर्ने भन्दै श्रेष्ठले सामाजिक एकता र सहकार्यलाई संस्थाको मुख्य शक्ति बनाउनुपर्ने समेत  धारणा राखेका छन् ।

गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभा संस्थाको विगत सात वर्षका गतिविधिको समीक्षा, आगामी कार्यदिशामाथि छलफल तथा नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ। सभाले संस्थालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै गोठगाउँवासीबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु